Logo

‘आमाको होटेलको खाना र बाउको लजको सुताई जस्तो हुँदैन आइसोलेसन’



ओखलढुंगा । २०७६ साल चैत्र अन्त्य तिरको कुरा हो । रातीको एक बजे तिर मलाई एक्कासी ज्वरो आयो । जिउ हात गोडा कटकट खायो। ज्वरो र जिउ हात गोडा कटकट खाएकाले फ्लेक्जन खान श्रीमतीले सुझाइन् । अनि फ्लेक्जन खाएँ । फेरि पनि ज्वरो आयो फेरि पनि फ्लेक्जन खाए । र पनि ज्वरो २० को १९ भएन ।

शरीरको दुखाई उस्तै छ केही कम भएन् । त्यस पछि श्रीमतीले फोनको माध्यमबाट चिनेको चिकित्सकसँग परामर्श लिइन् । सिटामोल खान चिकित्सको सुझाब आयो ।

त्यसपछि मैले ५०० एम.जि. को सिटामोल खाएँ र पनि जोरो घटेन । घरमै ज्वरो नापेर हेर्दा १०२ डिग्री सम्मको ज्वरो आईरहेको थियो । फेरि १ घण्टा ३० मिनेटको फरक मा ५०० एम. जि. को अर्को सिटामोल खाएँ । त्यसपछिज्वरो केही घन्टा कम भयो ।

भोलिपल्ट १० बजे तिर उपचार गराउने हेतुले भक्तपुर जिल्ला अस्पताल सम्म म आफैं मोटरसाइकल चलाएर गएँ । नजिकै मेरो मामाको छोरा एक सरकारी कार्यालयमा काम गर्ने भएकाले मलाई सजिलो हुन्छ भनेर खास गरि मैले त्यही अस्पताल रोजें ।

सामाजिक दुरि कायम गर्दै मैले डाक्टरलाई चेकअप गराएँ डाक्टरले एक्सरे तथा रगत, पिसाब चेक गर्न पठाए । एक्सरे र रगत, पिसाब जाँच गर्न बिलिङ गरेर म एक्सरे गर्ने तिर लम्किएँ अनि रगत र पिसाब लाइनमा बसेर कलेक्सन रुममा दिएँ ।

यता एक्सरे गर्ने सरले एक्सरे गरेर मलाई एक्सरे फिल्म दिनु भयो। त्यस पछि मैले एक्सरे फिल्म डाक्टरलाई हेर्न अनुरोध गरें । डाक्टरले रगतको रिपोर्ट संगै हेर्छु भने । त्यसपछि म रिपोर्टको पर्खाइमा रहें । रगतको रिपोर्ट २ घन्टा पछि मात्र आयो । एक्सरे र रगतको रिपोर्ट डाक्टरलाई देखाएँ । डाक्टरले रिपोर्ट हेरेर म तिर हेर्दै भने, ‘तपाईंलाई निमोनिया भएको छ, ज्वरो नि आएको छ, खोकी पनि लागेको छ, स्वाब परिक्षण गर्न पर्छ कोरोना हुन सक्छ, भर्ना भएर २ दिन आइसोलेसनमा बस्न पर्छ ।’

त्यसपछि मेरो स्वाब लिइयो ।स्वाबको नमुना लिने टिम अस्पतालको छेउमा टेण्टको व्यवस्था गरी बसेको थियो । तर मलाई निमोनिया भए जस्तो नि लागेको थिएन । आफैले बाइक हाँकेर गएको थिएँ । मैले डाक्टरलाई अनुरोध गरें‘मलाई कोरोना भएको छैन, ट्राभल हिस्ट्रि पनि छैन सर, म घर मै बसेर औषधि खाएर विश्राम गर्छु’ भनें तर डाक्टरले ‘हुदैन तपाई जसरी नि यहिं भर्ना भएर बस्नु’भने । उनले मलाई सम्झाउँदै भने,‘कुरुवा राख्नु हुन्छ भने बोलाउनुस् । तर घर जान मिल्दैन ।’
त्यसपछि म छाँगा बाट खसे झंै भएँ ।

विश्वमा कोरोनाले यत्रो मानिस भटाभट मरिरहेका समाचारहरु मेरा कानमा बज्रिन थाले । अब मलाई के होला ? कसरी म स्वास्थ हुन सक्छु भन्ने पिरलो त थियो नै कस्तो होला आइसोलेसन ? कसरी बस्ने होला ? मनमा कुरा खेल्न थाले ।

भरिसक घरमै जान पाए हुने भन्ने धेरै बेर सम्म लागि रह्यो । त्यति खेर विश्वमा कोरोना रोग लाग्ने व्यत्तिको सख्या धेरै भए पनि नेपालमा संख्या कमै थियो । मलाई कोरोना लागेछ भनेर घरमा रुवाबासी चलेछ । मलाई अस्पताल भर्ना गर्न मेरो मामाको छोराले सहयोग गर्नुभयो त्यसपछी मेरो श्रीमती र भाई दौडदै अस्पताल आईपुगे । एक्छिन सन्नाटा छायो ।

अस्पताल बाट सोधनी भयो : कुरुवा राख्ने कि नराख्ने ? कुरुवा राख्नु भयो भने कुरुवाले समेत बिरामी सगै २ दिन बस्नुपर्छ बाहिर निस्कन मिल्दैन रे । जे गर्नुहुन्छ, तपाईंहरुको विचार भनेर अस्पतालका कर्मचारीले प्रश्न तेर्साए ।

त्यसपछिम धेरैबेर घोरिएँ । कुरुवा राखौं मलाई लागेको भनेको कोरोना कुरुवा बस्नेलाई पनि सर्ला, नराखौं एक्लै कसरी बस्ने ?भन्ने भयो । अन्तत : मैले कुरुवा नराख्ने निर्णय गरें । मनमा झट्ट आयो ‘के होला नभन् जे होला भन् ।’ मनैदेखिको मेरो उर्जा अनुसार म एक्लै आईसोलेसन बस्ने निर्णय गरें । अस्पतालमा बस्दा आवश्यक पर्ने सामग्री श्रीमतीले घरबाट लिएर आएकी थिइन् । त्यो सामान सहित म आइसोलेसन रुम तिर लागें ।

आइसोलेसन वार्डमा पुगेँ । मन भकान्नि रह्यो । ज्यान डराईरह्यो । आफ्नो भन्दा बढि चिन्ता परिवार र आफन्तको भयो ।फेरि पनि म स्वस्थ छु । बाँच्नुपर्छ भन्ने पनि लागेकै थियो । मात्रै चिकित्सकले कोरोना होकि भन्ने आशंका गरेकाले त्रसित बनाएको थियो ।

त्यहाँ २ वटा वेडथिए । म झ्याल तिरको वेडमा बस्ने निधो गरें । त्यो दिन आइसोलेसनमा बस्नेको संख्या जम्मा ४ जनामात्र थियो । त्यसदिनमेरो रुममा अर्को बिरामी नबस्ने जानकारी पाएँ । रुम सगंै भित्र शौचालयको व्यबस्था भएकाले अरु कसैले त्यो रुममा प्रबेश पाउदैन थिए । वेडलाई वरिपरि प्लास्टिकले बेरिएको थियो । त्यो देखेर मेरो घरका परिवार झन आत्तिन थाले । त्यतिकैमा अस्पतालका कर्मचारीले मलाई मात्र भित्र बस्न र अरुलाई बाहिर जान सुझाउँदै भिडभाड गर्न मिल्दैन भनेर बाहिर निकाले । बाहिर मुल गेटमा चाबी ठोके ।

अब भित्रका मान्छे भित्रै थुनिए, बाहिरका बहिरै । म सगँ गृह प्रशासनको समेत कार्यअनुभव भएकाले जेल कस्तो हुन्छ ? भन्ने रामै्र अनुभव थियो । हो त्यहाँको बसाई ठिक जेल जस्तो लाग्थ्यो । अब आईसुलेसनमा मेरो एक्लो बसाईको सुरूवात भयो । सुरु सुरुमा त डर डर पनि लाग्यो । त्यहाँ मेरो छुट्टै दिनचर्या शुरु भयो । डाक्टर नर्स कोही पनि नजिक पर्दैन थिए । मलाई छुट्टै दृष्टिकोणले हेर्न थालियो । दिनमा एकपटक पिपिइ लाएर स्टाफ नर्स आएर दबाइ चलाउथिन् । अनि उनैले भन्थिन् ‘सर, कस्तो समय आयो है मान्छे देखि मान्छे डराउने?’ म पनि हो मा हो भन्दै सहि थप्थेँ । हिजो परिवार समाजमा होस् वा जागीरे जिवनमा जेष्ठ, कनिष्ठ सबैसँग सुमधुर सम्बन्ध थियो, सेवाग्राही देखि प्रतिष्ठित सम्मको प्यारो थिएँ । भेटहुँदा प्रिय मान्छेहरुसँग प्यार गरेर झ्याप्प अंगालो मारेका क्षणहरु मानसपटलमा घुमिरहन्थे । अनेक थरि सोचेर सुतिरहेको हुन्थें ।

…… खाना आयो, खाना आयो भन्दै खाना बाँड्नेहरु कराउँदै (ठुलो स्वरले सूचना दिँदै) आउँथे । म थाल थाप्न जान्थेँ । खान दिन आउनेले सोध्थे तपाई एक्लै हो ? कुरुवा छैन ?

उनिहरुको प्रश्न गराई देख्दा आफ्नो कोही नभएजस्तो बनाउँथे । मैले बिस्तारै यहाँ एक्लै छु । रुवाछैन भनेर मुन्टो हल्लाउथें । पछिपछिका दिनहरुमामेरो कुरुवा छैन भन्ने थाहा पाएर पहिला मलाई नै खाना ल्याईदिन्थे ।

त्यस्तो ठाँएमा एक्लो बसाई न कहिल्यै भोगिएको न कहिल्यै सोचिएको थियो । मलाई योगध्यानमा समेत रुचि भएकाले एक्लै बस्न त्यति असहज भएन । मौन ब्रत समेतको अनुभव थियो म सग, त्यैसैले धैरै जस्तो समय ध्यान गरेरनै समय बिताउथे । आइसोलेसन बसाईको दोस्रो दिन बेलुका सम्म कोरोनाको रिपोर्ट आउँछ अनि तेस्को भोलिपल्ट बिहान रिपोर्ट नेगेटिभ आयो भने डिस्चार्ज हुन्छ भन्ने जानकारी मेरो मामाको छोराले अस्पतालका स्टाफलाइ बुझेर मलाई खबर गर्नुभयो । त्यसपछि अलि ढुक्क भयो ।

मेरो दैनिकी बिहानै दुध बिस्कुट खाने, केही बेरमा दाल भात तरकारी खाने । दिउँसो क्यानटिन बाट मस्रुमको सुप मगाएर खाने र बेलुका दाल भात तरकारी पर्खने थियो ।

भात रुच्दैन थियो अनि दालमै जोड गर्थें । खान दिन आउने स्टाफले भन्थे ‘तपाईं खाना एकदमै थोरै खानु हुन्छ । निमोनिया भएको भन्नुहुन्छ, कमजोर हुनुहोला है….. ।’ उनिहरुले जे भने पनि रुच्दैन थियो, खाना ।

मनमनै सोच्थें, आमाको होटेलको खाना र बाउको लजमा सुते जस्तो त कहाँ हुन्थ्यो र आइसोलेसन । उता घरबाट आफन्त र अफिसका सरहरु एवम् शुभचिन्तकहरुको फोन आइरन्थ्यो । पटक पटक मेरो सिनियर हाकिमहरु देखि सहकर्मी साथिहरु तथा शुभचिन्तकहरुको फोन उठाउन भ्याई नभ्याई हुन्थ्यो । मलाई कोरोना नै भएको होला भन्ने अनुमान उहाहरुले गरेको कुरा गराइ बाट आभास हुन्थ्यो । स्वास्थलाभको कामना गरिरहनु हुन्थ्यो ।

मैले मेरो आफन्त र साथिभाईलाई बिरामी भएको कुरा खासै सुनाएको थिइनँ । यो बेला आफन्त साथीहरु लाई किन तनाव दिनु भन्ने लागेर खबर गरिनँ ।

मेरो ध्यानस्वाबको रिपोर्ट कतिबेला आउँछ ?भन्नेमा केन्द्रित हुन्थ्यो । कुरेर बसेँ तर तोकिएको समयमा रिपोर्ट आएन । बेलुका नौ बजे आउँछ, भन्ने आश्वासन भने पाएको थिएँ ।

रातीको नौ बज्यो दश पनि बज्यो तर अँह ! रिपोर्ट आएन ।

बरु अब भोलिपल्ट बिहान ११ बजे मात्रै रिपोर्ट आउँछ भन्ने जानकारी आयो । अर्को दिनको ११ बजे पनि रिपोर्ट आएन । तर पर्खनु बाहेक म सँग अरु उपाय थिएन । ११ बजे आउने भनिएको रिपोर्ट दिउँसोको १ बजेपनि आएन । बेलुका आउँछ भनियो साँझको ७ बज्यो तर रिपोर्ट आएन । मैले सोचें अब आज पनि रिपोर्ट आउदैन ।

मेरो मामाको छोरा भने आजै आउँछ रिपोर्ट अनि बेलुका १० बजे भए पनि डिस्चार्ज हुन्छ भन्दै फोन गर्नुहुन्थ्यो तर मलाई विश्वास लागेको थिएन । त्यो दिन पनि रिपोर्ट आएन ।

रिपोर्ट किन नआएको भन्ने अपुष्ट समाचार आयो । मेरो स्वाब पुनः पिसिआर चेकमा हालेको भन्ने खबर सुनें । त्यो खबर सुनेपछि अब मलाई पक्कै कोरोना भयो होला भन्ने कुरा मनमा खेल्न थाल्यो । म नै नेपालको पहिलो कोरोना रोगी सरकारी कर्मचारीको रुपमा पहिचान हुने भएँ भन्ने त्रास पैदा भयो । भित्र भित्रै डर जाग्न थाल्यो । मरिने पो हो कि ।शरीर काप्न थाल्यो । मन मनै सोच्न थाले मेरि छोरी ३ बर्ष मात्रकी छिन् । आमा पनि प्रेसर र मुटु रोगी हुनुहुन्छ । परिवारको हालत के हुने हो ? दिमाखमा आकाशको कालो बादल झैं विभिन्न कुरा मडारिन थाले । एक्लै रुँदै आफैं मन बुझाउँदै त्यो रात कटाएँ ।

भोलिपल्ट बिहान अर्थात आइसोलेसनमा बसेको चौथो दिन, बिहान ९ बजे रिपोर्ट आउँछ भन्ने जानकारी आएको थियो तर त्यो तोकिएको समयमा पनि रिपोर्ट आएन । बल्ल ११ बजे मेरो रिपोर्ट आयो ।

रिपोर्ट नेगेटिभ आयो है …… भन्दै मेरो दाइले फोन गर्नुभयो । त्यसपछि मेरो मन फुलको थुङ्गा झैं हल्का भयो । सारा दर्दहरु पिडाहरु भुलेर जसरी एक्लै रोएर रात बिताएँ उसरी नै भित्ता, टाँगिएको प्लाष्टिक र सुतेको वेडसँग खुसी साट्दै मुस्कुराएँ…….. ।

केहीबेरमा मेरो छेउमा पिपिइ लगाएका डाक्टर आए । प्रफुल्लित हुँदै ति डाक्टरले भनें ‘अहिले तपाईं लाई कस्तो छ ? रिपोर्ट नेगेटिभ आयो, बधाई छ ।’ उनले प्रश्नमाथि प्रश्न थपे,‘तपाई लाई अस्ति भर्ना गर्ने म नै हो । चिन्नु भो ?’मैले चिन्न सकिन किनकी उनले पिपिइ लगाएका थिए ।

डाक्टरले फोक्सोको अवस्था के छ ? एक्सरे हेरेर तपाईं लाई डिस्चार्ज गर्ने हो भनेपछि म बिलिङ गरेर एक्सरे गर्न गएँ । एक्सरेको रिपोर्ट देखाइयो, रिपोर्ट राम्रो आयो । त्यसपछि आइसोलेसनको जेल बाट मुक्ति पाएँ,डिस्चार्ज भएँ ।

जब आइसोलेसन बाहिरको स्वास लिन पाएँ । मनमा हर्क छायो । अर्को जुनि पाएको आभाष भयो । दाईले गाडीको व्यबस्था गर्नुभयो । ४ दिनको आइसोलेसनको बसाइपछि घर फर्किएँ । घर पुग्दा परिवारमा खुसी छायो । सबैको मुहारमा खुसीको दियो बलेको सजिलै अनुभूति गर्न सकिन्थ्यो । मेरो निश्कर्ष : सबै ज्वरो कोरोना हुँदैन रहेछ । सबै खोकी कोरोनाको लक्षण होईन । अतालिनु पर्दैन । तर सचेतना भने अपनाउनु पर्दछ ।

मेरो सुझाव : अस्पतालमा जाने ज्वरो र खोकिका सबै बिरामीलाई कोरोनाको शंका गरेर त्रसित नबनाऔं ।

आईसोलेसन बस्दा ‘मलाई यो जिन्दगीले कहाँ पुर्यायो ।’ भन्ने गीत खुब सम्झिएको मैले घर फर्किँएपछि कस्तो छ भनेर खबर सोध्नेलाई ‘यस्तै त हो नि ब्रो ।’ भन्ने जवाफ दिन थालेको छु । मेरो उपचारमा खटिने चिकित्सक र शुभाच्छा प्रकट गर्ने प्रियजनहरुमा आभार प्रकट गर्दछु । विश्वनै कोरोना रोग बाट आतंककित भएको समयमा आफु बाँचेर अरुलाई बचाउने कार्यमा हामी सबैलाई सफलता मिलोस् ।
धन्यवाद ।
(गुणराज भटराई नेपाल सरकारका शाखा अधिकृत हुन् ।)

प्रतिक्रिया दिनुहोस्